काठमाडौं। नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पार्टीको आगामी निर्वाचनको मतगणना निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुने बताएका छन्।
उनले मतगणना बन्द कोठामा नभई सञ्चारकर्मी र प्रतिनिधिहरूको उपस्थितिमा सार्वजनिक रूपमा गरिने बताए। मतगणनामा कुनै शंका नहोस् भनेर प्रत्येक मत सावधानीपूर्वक गणना गरिने उनको भनाइ छ।
मतगणना छिटो सम्पन्न गर्न पार्टी कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको खड्काले जानकारी दिए। उनका अनुसार आवश्यकताअनुसार १० देखि १३ वटासम्म काउन्टर सञ्चालन गरेर मतगणना गरिनेछ।
‘मतगणनाको परिणाम निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुनुपर्छ भन्नेमा हामी पूर्ण रूपमा सचेत छौँ,’ खड्काले भने।
मतदान प्रक्रिया पनि सहज र छिटो बनाउन सभापति, उपसभापति, महामन्त्रीलगायत विभिन्न पदका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको उनले बताए। एक काउन्टरमा मतदान सकेपछि अर्को काउन्टरमा जान सक्ने व्यवस्था गरिएकाले एकै समयमा धेरै मतदाताले मतदान गर्न सक्ने समितिको भनाइ छ।
खड्काका अनुसार करिब एक मिनेटको अन्तरालमा ५० जनासम्म मतदाताले मतदान गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। यसले लामो लाइन घटाउनुका साथै मतदाताको समय बचत गर्ने समितिको अपेक्षा छ।