पूर्वी क्षेत्रमा पहिलो पटक पाटेबाघ भेटिएको छ ।
इलामको ३ हजार १ सय ६५ मिटर उचाइमा पहिलोपटक पाटेबाघ फेला परेको हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड भएको थिएन ।
कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० वटा क्यामेरा ट्रयापमध्ये एउटा क्यामेरामा पाटेबाघ कैद भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।
यो रेकर्डसँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भू–परिधिमा बिरालो प्रजातिको संख्या ८ पुगेको छ ।
चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा रेकर्ड भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलिला निकुञ्जसँग जोडिएको छ ।
विभाग र रेडपाण्डा नेटवर्कले हाब्रेको घाँटीमा जीपीएस कलर जडान गरी संयुक्त रुपमा रेडपाण्डाको अनुगमन गरिरहेका छन् ।
यसअघि गत चैतमा डडेलधुरामा २ हजार ५०० मिटर उचाइमा बाघ भेटिएको थियो ।
अहिलेसम्मको तथ्यांक अनुसार भारतमा ३,६३० र भुटानमा ४४०० मिटरको उँचाइमा बाघ पाइएको छ। इलाममा भेटिएको बाघ भारतको सिंघलिला राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने अनुमान गरिएको छ। उक्त निकुञ्ज नेपालको कञ्चनजंघा संरक्षण क्षेत्रसँग जोडिएको छ। वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले इलाममा बाघ पाइएको घटनाले उक्त क्षेत्रमा अन्य वन्यजन्तुको अवस्था राम्रो भएको संकेत मिलेको बताए।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आईयूसीएनले बाघलाई अति संकटापन्न सूचीमा वर्गीकरण गरेको छ। सन् २००९ को गणनामा नेपालमा १२१ बाघ पाइएको थियो। सन् २०१८ को गणनामा बाघको संख्या बढेर २३५ पुगेको छ।
सन् २०२२ सम्म बाघको संख्या २४२ भन्दा बढी बनाउने नेपालको लक्ष्य छ। नेपालका १८ जिल्ला र ९ जैविक मार्गमा बाघ पाइएको छ।