नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ ।
दुई दिनअघि सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बसेका पारसको बिहीबार गन्ध र स्वाद हराएको थियो । शुक्रबार विहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका छन् । क्यानले शुक्रबार मात्र राष्ट्रिय टोलीका खेलाडीलाई बन्द प्रशिक्षणबाट फुकुवा गर्दै चितवन पठाएको थियो ।
चितवनमा शनिबारदेखि सुरु हुने गौतम बुद्ध कपमा अब पारसले सहभागिता जनाउने छैनन् । उनले प्रतियोगिताको शुभकामना दिँदै आफू खेलमा उपस्थित हुन नपाएकोमा दुख व्यक्त गरेका छन् । पारसले नारायणीको कप्तानी गर्ने तय भएको थियो ।
पारसले सामाजिक संजालमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
Having got mild symptoms,i isolated myself from the team over last two days and as i lost my smell and taste since…
Posted by Paras Khadka on Friday, December 11, 2020
यसअगाडी मंसिर १० गते नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा भरतपुरको चितवनमा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबारदेखि गौतम बुद्ध कप सुरु हुँदैछ ।
बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा नारायणी, राप्ती र बागमती गरी तीन टोलीले प्रतिस्पर्धा गर्ने छन् । सबै टोलीमा क्यानले राष्ट्रिय टोलीमा बन्द प्रशिक्षणमा बोलाएका खेलाडीहरु छन् ।