काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्ने भएका छन् ।
यस अवसरमा मूल समारोह समितिको अध्यक्षका हैसियतले प्रधानमन्त्री शाहले सम्बोधन गर्नुपर्ने हो । तर, उनले सम्बोधन नगर्ने भएपछि केहीदिन अगाडि राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
तर राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि मात्रै सम्बोधन गर्ने बताएपछि आइतबार बसेको बैठकले सो निर्णय गरेसँगै उनले सम्बोधन गर्ने भएका हुन् ।
राष्ट्रपति पौडेलले गत वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दा पनि बीचमै उठेर हिँडेका वालेन्द्र त्यसयता फर्किएका छैनन् ।
संसद् भवनबाट दुई सय मिटर दूरीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर संसद्को टेलिभिजन लाइभ हेरेर बसेका उनले व्यवस्थापिकालाई बेवास्ता गरेको आरोप लागिरहेको छ।
यस्तोमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा सरकारले नै आयोजना गर्ने गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र लेखेका हुन् ।