काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले आकस्मिक समयमा बोल्ने सांसदहरूले पूर्वजानकारी गराइएको विषयमै केन्द्रित हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकका क्रममा आकस्मिक समय लिएर मन्तव्य राख्ने केही सांसदहरूले अनुमति लिँदा उल्लेख गरिएको विषयभन्दा बाहिर गएर धारणा व्यक्त गरेको प्रसंग उल्लेख गर्दै सभामुखले यसप्रति ध्यानाकर्षण गराएका हुन्।
सभामुख अर्यालले आकस्मिक समय माग्दा प्रस्तुत गरिएको विषयवस्तुभन्दा फरक विषयमा अभिव्यक्ति दिन थालेमा अध्यक्षताबाट समय उपलब्ध गराउन कठिन हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।
उनले संसद्को कार्यसूची र समय व्यवस्थापनलाई व्यवस्थित राख्न सांसदहरूले निर्धारित विषयमै आफ्नो भनाइ केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए।