काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन्।
संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शनिबार साँझसम्म सात उजुरी दर्ता भएको जानकारी दिएका हुन्।
वैशाख २६ गते संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे स्पष्ट आधार, प्रमाण र सबुतसहित उजुरी दिन १० दिनको समय दिएको थियो।
समितिले उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरेको छ। उजुरी दर्ता गर्ने समय सोमबार कार्यालय समयसम्म कायम रहने सचिवालयले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषदको सिफारिसमा आएका व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण संसदीय सुनुवाइ समितिले गर्नेछ। त्यसपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने तयारी गरेको छ।