काठमाडौँ– काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले राति ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागिएको बताइन् ।
उनले भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशाेरी र महिलाहरूले दुर्व्यवहार भोग्नु परेको छ । विद्यार्थीहरूलाई आर्थिक रुपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ ।’
उनले यातायात सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य रहेको उल्लेख गर्दै साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका सधैँ तयार रहेको बताइन् ।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर–दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।
थानकोटदेखि सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व–पश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।
बस सेवा राति ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।