काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था थप स्पष्ट पार्दै नयाँ निर्णय सार्वजनिक गरेको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार बाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट मात्रै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गरिनुपर्ने प्रावधान पुनः जोड दिएको हो ।
विज्ञप्तिमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ अनुसार कामदारले विदेश जानुअघि नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने उल्लेख गरिएको छ ।
यसैबीच मन्त्रालयले स्वीकृति प्राप्त वा सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरूलाई कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत हुने प्रक्रिया खुला गरिएको जानकारी दिएको छ । साथै, स्वास्थ्य संस्था सूचीकृत, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधिअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।