काठमाडौँमा केपी शर्मा ओली को पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने भएको छ।
ओलीकी पत्नी राधिका शाक्य का तर्फबाट आइतबार दायर गरिएको रिटमा आजका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले जानकारी दिएका छन्।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा पक्राउ गरी थुनामा राखिएको कार्य गैरकानूनी भएको दाबी गरिएको छ। साथै, कुनै पनि अनुसन्धान निकायको सिफारिस वा प्रतिवेदन मात्रका आधारमा व्यक्तिलाई पक्राउ गर्नु कानूनी मापदण्डअनुसार नहुने जिकिर गरिएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई गत शनिबार पक्राउ गरिएको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतले उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।