काठमाडौँ। जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको हिरासत म्याद थप भएसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचाररत अवस्थामै अस्पतालमा राखिने भएको छ भने पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमा राखेर अनुसन्धान अघि बढाइने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार नियन्त्रणमा लिइएका लेखकलाई प्रारम्भदेखि नै सोही गणमा राखिएको थियो र आगामी दिनमा पनि त्यहीँबाट बयान तथा अनुसन्धान प्रक्रिया सञ्चालन गरिनेछ। सामान्यतया अनुसन्धानको जिम्मेवारी रहेको प्रहरी कार्यालयमै हिरासत व्यवस्थापन गर्ने प्रचलन रहे पनि विशेष परिस्थितिमा वैकल्पिक स्थान प्रयोग गरिने गरिएको छ।
उच्च पदमा रहेकाले सुरक्षा संवेदनशीलता बढ्ने र परिसर काठमाडौँ (भद्रकाली) मा भेटघाटका लागि आउने व्यक्तिहरूको चाप तथा दैनिक कार्यव्यस्तताले सुरक्षा व्यवस्थापनमा चुनौती उत्पन्न हुन सक्ने कारण देखाउँदै लेखकलाई २ नम्बर गणमा राखिएको जनाइएको छ।
यसैबीच, स्वास्थ्य अवस्थाका कारण यसअघि नै अस्पताल भर्ना गरिएका ओलीलाई सोही स्थानबाटै उपचार जारी राख्दै अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।