काठमाडौँ । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ।
संघीय संसद सचिवालय अन्तर्गत सांसद सुविधा शाखाले सूचना जारी गर्दै सम्बन्धित सदस्यहरूलाई कानुनी व्यवस्था अनुसार विवरण बुझाउन स्मरण गराएको हो।
प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ले सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त कानुनी प्रावधानअनुसार पदभार ग्रहण गरेको मितिले ६० दिनभित्र आफ्ना साथै परिवारका सदस्यको नाममा रहेको सम्पत्ति, त्यसको स्रोत तथा प्रमाणसहित अद्यावधिक विवरण सम्बन्धित निकायसमक्ष बुझाउनुपर्ने हुन्छ।
यसै कानुनी दायित्वलाई कार्यान्वयनमा ल्याउन संसद सचिवालयले समयसीमा तोक्दै सांसदहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको जनाएको छ।