काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न ४ बजे दलको कार्यालय, वनस्थलीमा बस्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकको जानकारी दिएका छन्।
बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयनसम्बन्धी छलफल गर्ने हो। रास्वपाको विधानमा दलको नेता चयन प्रक्रिया सम्बन्धी केही संशोधन आवश्यक भएकाले केन्द्रीय समितिले आजै यस विषय टुंग्याउने तयारी गरेको छ।
बैठकमा सबै केन्द्रीय सदस्यहरूको अनिवार्य उपस्थितिको निर्देशन दिइएको छ। विधान संशोधन सम्पन्न भएपछि संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता चयन गर्नेछ।
बालेन शाहको चयनपछि रास्वपा उक्त निर्णय राष्ट्रपति कार्यालयमा बुझाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलको नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेको थियो।