काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा नेकपा नेतृ रेनु दाहालको पराजयप्रति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आश्चर्यसहित दुःख व्यक्त गरेका छन्।
हाल पितृ शोकमा रहेका ओलीलाई भेट्न पुगेकी दाहालसँगको भेटका क्रममा उनले निर्वाचन परिणामबारे धारणा राखेका हुन्।
सोमबार भक्तपुरस्थित निवासमा भएको भेटमा दाहालले ओलीप्रति समवेदना प्रकट गरेकी थिइन्। उनले दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पारिवारिक संवेदना व्यक्त गरेकी थिइन्। भेटका क्रममा करिब आधा घण्टा राजनीतिक तथा व्यक्तिगत विषयमा संवाद भएको जनाइएको छ।
संवादका क्रममा अध्यक्ष ओलीले दाहालले निर्वाचित हुनुपर्ने अपेक्षा आफूमा रहेको उल्लेख गर्दै उनको कार्यसम्पादनका आधारमा परिणाम फरक हुनुपर्ने धारणा राखेका थिए।
विशेष गरी भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा उनले गरेका विकास तथा समन्वयात्मक कार्यको सन्दर्भ उल्लेख गर्दै मतदाताले त्यसको मूल्यांंकन गर्ने अपेक्षा गरिएको बताएका थिए।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाहाल चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा रहेकी थिइन्। उनी सो निर्वाचनमा पराजित भएकी हुन्। निर्वाचनमा सहभागी हुनुअघि उनले भरतपुर महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएकी थिइन्।
उक्त निर्वाचनमा एमाले अध्यक्ष ओली स्वयं पनि झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गरेका थिए र उनी पनि पराजित भएका थिए।