काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्याग्दीबाट निर्वाचित सांसद महावीर पुन फेरि पुस्तक बेच्न सडकमा निस्किने भएका छन् । केही दिनअघि पोखराका सडकमा फुटपाथ व्यापार प्रतिबन्ध लगाइएको प्रसङ्ग निकालेर मेयर धनराज आचार्यले त्यसो नगर्न सुझाएका थिए । जवाफ स्वरूप पुनले आफ्नो अहिले काम नभएकोले किताब नै बेच्ने दैनिकीमा फर्किन लागेको बताए ।
बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले शपथ ग्रहणको टुङ्गो नलागेको र आफू फुर्सदिलो भएकाले सडकमा आत्मकथा बेच्न लागेको बताएका छन् । ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिर देखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु,’ पुनले फेसबुकमा लेखेका छन् ।
केही समयअघि मेयर आचार्यले कानुनको हवाला दिँदै पुनलाई सडकमा बसेर पुस्तक नबेच्न आग्रह गरेका थिए । त्यसको जवाफमा पुनले व्यङ्ग्यात्मक शैलीमा मेयरलाई सम्बोधन गर्दै भनेका छन्, ‘अनि के गरेर बस्ने त नि मेयर साहब ? गाह्रो पिरो नमान्नु होला ।’
चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्र म्याग्दीका ६ वटै स्थानीय तह पुगेर विकास र बजेटका बारेमा जनप्रतिनिधि र स्थानीयसँग छलफल सकेर उनी पोखरा फर्किएका हुन् । सांसदको रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रियामा ढिलाइ भएपछि उनले पुनः पुस्तक बिक्रीकै दैनिकी रोजेका हुन् ।