काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।
आयोगले सोमबार (चैत २) समानुपातिकतर्फका ११० सांसदको सूची सार्वजनिक गर्दै चैत ५ मा प्रमाणपत्र दिइने जनाएको हो । साे दिन बिहान ११:३० बजे आयोगको परिसरमा प्रमाणपत्र प्रदान गरिने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले चार/चार सिट पाएका थिए ।
दलहरूले समानुपातिक बन्दसूचीबाट सोहीअनुसार नाम आइतबार आयोगलाई बुझाएका थिए ।