काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् ।
आज दिउँसो १:०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७ मत ल्याई अग्रता हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका कविर शर्माले दुई हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले एक हजार ४६९ मत ल्याएका छन् ।
यस्तै काठमाडौँ–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले चार हजार २२० मत प्राप्त गरेका छन् भने काँग्रेसका रमेश अर्यालले दुई हजार १९० मत ल्याएका छन् ।
काठमाडौँ–४ मा रास्वपाकै पुकार बम ६ हजार २८४ मतका साथ अगाडि छन् । उनका प्रतिस्पर्धी काँग्रेसका सचिन तिमिल्सिनाले एक हजार ९०७ र नेकपा (एमाले) का राजन भट्टराईले एक हजार ४७९ मत पाएका छन् ।
काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मत ल्याई अग्रस्थानमा छन । उनका प्रतिस्पर्धी काँग्रेसका प्रदीप पौडेलले तीन हजार ५५६ र एमालेका ईश्वर पोखरेलले एक हजार ९०८ मत ल्याएका छन् ।
काठमाडौँ–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत प्राप्त गरी अग्रता हासिल गरेका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्रीले दुई हजार ७७५ र एमालेका अमनकुमार मास्केले एक हजार ६१२ मत पाएका छन् ।
काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीले १० हजार २७३ मत ल्याएर अग्रता कायम गरेका छन् । सो क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठले एक हजार ६७२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले एक हजार ३८९ मत ल्याएका छन् । ।
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १४ हजार ७५१ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले एक हजार ९९५ र काँग्रेसका सपना राजभण्डारीले एक हजार ६४५ मत प्राप्त गरेका छन्। काठमाडौँ–९ मा डोलप्रसाद अर्यालले पाँच हजार ५५९ मत ल्याई अग्रता कायम गरेका छन् । सो क्षेत्रमा काँग्रेसका नानुमैयाँ बास्तोलाले एक हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत ल्याएका छन् ।
काठमाडौँ–१० मा रास्वपाकै प्रदीप विष्टले आठ हजार ५०८ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले एक हजार २२१ मत ल्याएका छन् ।
काठमाडौँ क्षेत्र नं १ मा यसअघि रास्वपाकै रञ्जु न्यौपाने १५ हजार ४५५ मत ल्याई विजयी भईसकेकी छन् ।