काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्म प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै स्थानमा अग्रता लिँदै अघि बढेको देखिएको छ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारहरू ४६ निर्वाचन क्षेत्रमा अगाडि रहेका छन्। त्यस्तै नेकपा एमाले ५ स्थानमा, नेपाली कांग्रेस ४ स्थानमा , नेकपा २ स्थानमा र राप्रपा १ स्थानमाअग्रता कायम गरेका छन्।
काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा रास्वपाका उम्मेदवारहरूले उल्लेख्य मतसहित अग्रता लिइरहेका छन्। रास्वपाका सभापति रवि लामिछाने चितवन–२ मा अगाडि छन् भने काठमाडौंका विभिन्न क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले प्रतिस्पर्धी दललाई पछि पारिरहेका छन्।
यता एमालेका केही प्रभावशाली उम्मेदवारहरू पनि विभिन्न क्षेत्रमा अगाडि छन्। रुपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, तेह्रथुम–१ मा भानुभक्त ढकाल, चितवन–१ मा दावा दोर्जे लामालगायत उम्मेदवारले अग्रता लिइरहेका छन्।
त्यसैगरी नेपाली कांग्रेस ललितपुर–१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र कैलाली–१ मा जनकराज चौधरी अगाडि छन्। नेकपाका तर्फबाट रुकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट–१ मा महेन्द्रबहादुर शाहीले अग्रता कायम गरेका छन्।