बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कोरोना भाइरस सङ्क्रमणलाई हल्का ढङ्गले नलिन नगरवासीलाई आग्रह गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेर निस्किनुभएका बुटवल वडा नम्बर १३ जीतगढीका रुद्रप्रसाद आचार्यको परिवारलाई आज डिस्चार्ज पत्र प्रदान गर्दै उपप्रमुख आचार्यले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गर्नुभयो । कोरोना भाइरस सङ्क्रमण भयो भने सोचेजस्तो सहज हुँदैन, यो सङ्क्रमितहरुले अनुभव गर्नुभएको छ ।
त्यसैले सावधानी अपनाउन जरुरी छ ।उच्च मनोबल राखेर कोरोनाविरुद्ध लड्नुभएका आचार्य परिवारलाई बधाई दिँदै उहाँले सङ्क्रमितलाई माया र हौसला दिएर वडाले प्रशंसनीय काम गरेको उल्लेख गर्नुभयो । उपप्रमुख आचार्यले सङ्क्रमण नहोस् भनेर सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना लाग्न सक्ने भएकाले आफन्त, छिमेकी र टोलवासीले सहयोग र सहकार्यको भावना राख्नुपर्ने बताउनुभयो ।बेलबोट टोल समितिका अध्यक्ष विष्णु केसीले अहिले कोरोना सङ्क्रमणका समयमा मात्र नभई टोलवासीलाई परेका कुनै पनि समस्यामा सबै एकजुट भएर साथ दिने गरेको बताउनुभयो ।
कोरोना सङ्क्रमण निको भए पनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्ने उद्देश्यले स्थानीयवासीले सामाजिक दूरी कायम गरी आचार्य परिवारलाई पुष्पगुच्छासहित स्वागत गरेको सामाजिक अगुवा दीपक पन्थीले जानकारी दिनुभयो ।समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरेका गुनासा आइरहेका बेला बुटवलमा भने होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई पुष्पच्छासहित बधाई तथा शुभकामना दिने गरिएको छ ।शनिबार बुटवल–११ नहपुरका तारा अर्यालको परिवारलाई पनि पुष्प गुच्छासहित शुभकामना दिइएको थियो ।