काठमाडौं । बडादसैँको सातौँ दिन आज देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरमा फूलपाती भित्र्याइँदै छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीलाई दसैँको महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ।
धार्मिक परम्पराअनुसार आज दसैँघर तथा पूजाकोठामा विभिन्न फूल, पात र वनस्पति भित्र्याएर नवदुर्गामध्ये सातौँ स्वरूप कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। यस दिन देवीको आराधना गरी शक्ति, समृद्धि र कल्याणको कामना गर्ने चलन छ।
परम्पराअनुसार गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा भित्र्याउने गरिन्छ। यो परम्परा नेपाली सांस्कृतिक एकता र ऐतिहासिक पहिचानसँग जोडिएको छ।
नवरात्रका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्परा छ। यस अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड बढेको छ।
फूलपातीसँगै दसैँको रौनक थपिएको छ। सरकारले आजदेखि दसैँ बिदा दिएको छ।