काठमाडौँ । विभिन्न निर्वाचन क्षेत्रहरूमा दलहरूबीच सम्भावित चुनावी सहकार्यबारे चर्चा भइरहेका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले हालसम्म कुनै ठोस निष्कर्षमा नपुगेको बताएका छन्।
घोराहीमा आयोजित चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा आएका सबै जानकारीलाई आधिकारिक मान्न नहुने उल्लेख गरे। दलहरू स्वयंले औपचारिक धारणा सार्वजनिक नगरेसम्म अनुमानका आधारमा टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ थियो।
महासचिव पोखरेलले चुनावी तालमेलका विषयमा पार्टीले अन्तिम निर्णय नलिएको स्पष्ट पारे। पछिल्लो समय झापा-५ र दाङ-२ लगायतका क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी सँग एमालेको सहकार्य हुन सक्ने अड्कलबाजी सार्वजनिक भइरहेका छन्। उनले यस्ता विषयमा आधिकारिक निर्णय भएपछि मात्रै जानकारी गराइने संकेत गरेका छन्।