काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
मंगलबार (हिजो) उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु दिउँसो ३.०० बजेबाट साँझ अबेरसम्म बैठक बसेपनि कुनै निर्णय नगरी बुधबार बिहान बैठक बस्ने निर्णय गर्ने भन्दै बैठक समापन गरेका थिए।
सोअनुसार आज बुधबार बिहान बैठक बसेर थप एक साता निषेधाज्ञा लम्बाउने निर्णय भएको काठमाडौं जिल्लाका प्रजिअ जनकराज दाहालले बताए ।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा ५ दिन नभएर एक हप्ता बढाएका छन् । अब भदौ १७ गते रात्ति १२ बजेसम्म काठमाडौं उपत्यकामा तीन जिल्लामा निषेधाज्ञा जारी रहन्छ ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
मंगलबार दिउँसोसम्म काठमाडौं उपत्यकामा ३ हजार ७ सय ८ जनामा कोरोना संक्रमण भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ५५ जना भक्तपुरमा ३ सय जना र ललितपुरमा ४ सय ५३ जना कोरोना संक्रमित भेटिएका छन् ।
देशका ७७ जिल्लामध्ये कोरोना संक्रमणको हिसावमा काठमाडौं जिल्ला शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार ६८ छ ।