काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का स्थानीय आवश्यकता र समस्या पहिचान गर्न बहुविषयगत अध्ययन टोली परिचालन गरेका छन्।
शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरू समेटिएको टोलीले क्षेत्रगत अवस्थाको अध्ययन गर्ने जनाइएको छ।
सर्लाहीमा रहँदै मतदातासँगको भेटघाटका क्रममा थापाले योजनाबद्ध र तथ्यमा आधारित ढंगले विकासका काम अघि बढाउने लक्ष्य रहेको उल्लेख गरेका छन्।
अध्ययन टोलीले प्राप्त निष्कर्षका आधारमा आगामी पाँच वर्षका लागि कार्ययोजना तयार गर्ने उनको भनाइ छ।
साथै, सर्लाही-४ का लागि सम्पर्क र समन्वय सहज बनाउन सर्लाहीसँगै काठमाडौँमा समेत कार्यालय सञ्चालन गरिने जानकारी दिइएको छ।
यस व्यवस्थाले मतदाता र सरोकारवालासँग निरन्तर संवाद र नीतिगत तयारीलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।