काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा अर्को फाइल पनि खोलिएको छ ।
मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि अब अर्को फाइल खुलाइएको हो । बंगलादेशमा आजभन्दा १६ वर्षअघि हिंस्रक विद्रोह भएको थियो, जसमा दर्जनौँ वरिष्ठ सैन्य अधिकारीहरूको हत्या भएको थियो।
यी सामूहिक हत्याहरूको अनुसन्धानका लागि गठित आयोगले आइतबार पूर्व प्रधानमन्त्री शेख हसिनाले नै यी हत्याहरूको आदेश दिएको दाबी गरेको छ ।
बंगलादेश राइफल्स (बीडीआर) का उग्र सैनिकहरूले ढाकाबाट सुरु भई सन् २००९ मा देशभर फैलिएको दुई दिने विद्रोहको क्रममा सैन्य अधिकारीहरू सहित ७४ जनाको हत्या गरेका थिए।
यी हत्याहरूका कारण तत्कालीन प्रधानमन्त्री हसिनाको सरकारको ठूलो आलोचना भएको थियो । उनले पद सम्हालेको केही हप्ता मात्र भएको थियो।
गत वर्ष अर्थात् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि शेख हसिनालाई पदमुक्त गरिएको थियो। शेख हसिना भारतमा बसिरहेकी छन् । मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले सन् २००९ को घटनाको अनुसन्धान गर्न एउटा आयोग गठन गरेको थियो।
७८ वर्षीया हसिनाले त्यसबेलादेखि बंगलादेश फर्कने अदालतको आदेश नमान्दै भारतमा शरण लिइरहेकी छन् । बंगलादेश सरकारले भारत सरकारलाई हसिनालाई बुझाउन पत्राचार गरिरहेको छ ।