काठमाडौँ- आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अब निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन गर्न सक्ने भएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश जारी गरेपछि कानुनी अड्चन हटेको हो।
यसअघि विद्यमान कानुनले चुनावको मिति सार्वजनिक भएपछि सो निर्वाचन प्रयोजनका लागि नामावलीमा नयाँ नाम थप गर्न नपाइने व्यवस्था गरेको थियो। यही कारण फागुन २१ गते तोकिएको निर्वाचनका लागि नयाँ मतदाता दर्ता रोकिएको थियो।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४ अनुसार अध्यादेश जारी गरेपछि आयोगलाई नयाँ मतदाता संकलनको बाटो खुलेको छ। आयोगले यसअघि नै गृह मन्त्रालयसँग पत्राचार गरी कानुनी बाटो खुलाइदिन आग्रह गरेको थियो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अब आयोगले छिट्टै बैठक बसेर नामावली संकलन सुरु गर्ने मिति तोक्ने जानकारी दिएका छन्। उनका अनुसार निर्णय भएलगत्तै तोकिएको मितिबाट दर्ता प्रक्रिया प्रारम्भ गरिनेछ।