माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।
माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका-५ का मकरसिंह सारुमगरले बताए ।
“अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्याइयो”, उनले भने । आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको उनले सुनाए।
धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पुर्याइसकेका छन् । माघेसङ्क्रान्तिका दिनमा यसको महत्व हुँदा अहिले समयमै बजार पुर्याउन आफूहरू लागेको उनी बताउँछन् । “आजभोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो छ”, उनले भने।
एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको किसानहरूको गुनासो छ ।
पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेको पाइन्छ । किसानले अदुवा खेतीसँगै बीचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे (हात्तीपाइले) तरुल लगाउने गरेको मगर बताउँछन् । यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै हुने कारणले किसानले पञ्जे तरुल लगाउने गरेको उनको भनाइ छ ।
केही वर्षयताबाट तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताए । कीरा लाग्ने समस्याका कारण पछल्ला केही वर्षयता उत्पादनमा भने कमी हुँदै गएको उनले सुनाए । अदुवा खेतीमा पञ्जे तरुल लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताए ।
तर पछिल्ला वर्षमा तरुलमा कीराको समस्या देखिएपछि किसानले थोरै-थोरै क्षेत्रफलमा लगाउने गरेको उनको भनाइ छ ।
नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारुले बताए ।
नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको उनको भनाइ छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौँमा पठाउने गरेको सारुले बताए ।
सारुका अनुसार किसानले अहिले प्रतिकेजी रु ४५ सम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी रु ७० देखि रु ८० सम्म पर्ने गरेको सारुले बताउनुभयो । नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ ।