काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी एआइजी केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई अगाडि बढाएका प्रहरी अधिकारी केसीलाई नेपाली काँग्रेसको दबाबका कारण जिम्मेवारीबाट हटाइएको थियो।
उनले नेतृत्व गरेको टोलीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाईसमेत पक्राउ गरेपछि असन्तोष देखिएको एमाले–काँग्रेसको सत्ता गठबन्धन सरकारले उनलाई प्रभावकारी पदमासमेत नपठाई उनी प्रदेश समन्वय विभागमा राखिएको थियो ।
केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले २०७९ चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुलेको आरोपमा पक्राउ गरेको थियो। उनीहरूको बयानपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूसमेत प्रकरणमा संलग्न रहेको तथ्य बाहिर आएको थियो।
यसअघि सीआईबी प्रमुख रहेका चन्द्र कुबेर खापुङ प्रहरी महानिरीक्षक (आइजिपी) बनेसँगै ब्युरो प्रमुख रिक्त रहँदै आएको थियो ।