प्रेस काउन्सिलले विगत तीन आर्थिक वर्षदेखि रोकिएको पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गर्ने भएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज काउन्सिलद्वारा बागलुङमा आयोजित पत्रकार आचारसहिंता जागरण कार्यक्रममा सो जानकारी दिएका हुन् ।
“भरसक यही पुस महिना भित्रैमा नभए पनि आउँदो १५/२० दिनमा वर्गीकरण नतिजा सार्वजनिक हुन्छ,” उनले भने, “विविध कारणले रोकिएको वर्गीकरण प्रक्रियालाई काउन्सिलको अहिलेको नेतृत्वले टुङ्गो लगाउँदैछ ।”
उनले आफूहरु काउन्सिलमा आएको सात महिना मात्रै भएको र पत्रपत्रिकाको वर्गीकरण प्रक्रिया पहिलेदेखि नै अवरुद्ध रहेको स्मरण गराए । अध्यक्ष बस्नेतले वर्गीकरण काउन्सिलले मात्रै गर्ने नभएर त्यसमा राज्यका अन्य निकाय पनि सम्बद्ध रहेको स्पष्ट पारे ।
बेलैमा वर्गीकरण नजिता नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञानबाट वञ्चित हुनुपरेको छ । त्यसको सोझो मार जिल्लास्तरमा सञ्चालित स्वरोजगारमूलक पत्रपत्रिकामा परेको छ ।
सोही क्रममा अध्यक्ष बस्नेतले आचारसहिंता पत्रकारको मूलमन्त्र भएको उल्लेख गरे । “आचारसहिंतामा टेकेर हामीले पत्रकारिता गर्नुपर्छ, पत्रकारले यसलाई सधैँ मनमा लिएर हिँड्नुपर्छ, पढिरहनुपर्छ,” उनले भने ।
पत्रकारितामा नवप्रवेशीहरुले त झन् आचारसहिंताबारे बढी ध्यान दिनुपर्ने अध्यक्ष बस्नेतको सुझाव छ । काउन्सिका सदस्य दुर्गा भण्डारीले सञ्चारका नयाँ नयाँ माध्यम विकास भएसँगै आचारसहिंता पालना थप चुनौतीपूर्ण बन्दै गएको धारणा राखिन् ।
पत्रकारितामा स्वच्छता र विश्वसनीयता कायम गर्न पत्रकारले आचारसहिंता पालना गर्नु अनिवार्य सर्त रहेको उनको भनाइ छ । कार्यक्रममा पत्रकार पुण्य पौडेलले पत्रकार आचारसहिंताका विषयमा सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा भएको कार्यक्रममा ३० भन्दाबढी पत्रकार/सञ्चारकर्मीले भाग लिएको महासंघका जिल्ला उपाध्यक्ष नवीन शिशिर विकले जानकारी दिए ।