एमाले अध्यक्ष केपी शर्मा ओलीले पढेर सुनाएको ३०१ जनाको सूचीमा आफू नपरेपछि व्यवसायी दुर्गा प्रसाई बन्दसत्र स्थलबाट बाहिरिएका छन् ।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाएका थिए। उक्त सूचीमा प्रसाईको नाम थिएन। आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट बाहिरिएका हुन्। बैठकस्थलबाट बाहिरिएपछि उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘यस्तै हुन्छ। त्यसैले चुनाव गरौ चुनाव गरौ भनेको।’
ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्ने मेडिकल व्यापारी दुर्गा प्रसाई भने अध्यक्ष ओलीको ३०१ जनाको सूचीमा अटाएनन् । प्रसाईले आफू केन्द्रीय सदस्यको दाबेदार रहेको र हजुरबाको आशिर्वाद चाहियो भन्दै ओलीलाई भेटेरै अनुरोध गरेका थिए ।
आइतबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले सहमति गर्दै जाँदा आफ्नो नाम काटिए अन्यथा नहुने बताएका थिए । पदाधिकारी टुङ्ग्याउँदै सौराहाको पार्क सफारी होटलमा बसेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि प्रसाईंले भनेका थिए, ‘नाम काटियो वा अटाइएन भने के गर्नु त । ठिकै छ ।’
आइतबारै प्रसाईँले आफूलाई बन्दसत्रको बारेमा थाहा नभएको समेत बताएका थिए । चितवनको सौराहामा जारी एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा गएका प्रसाईंले बन्द सत्रका बारेमा थाहा नभएको बताएका हुन् ।
‘मलाई बन्द नि थाहा छैन, सत्र नि थाहा छैन,’ प्रसाईंले भने, ‘म यस्तोमा परेको थिइन । खाना खाने र यो कार्ड बोकेर हिंड्नेबाहेक यहाँ केही पनि भएको छैन ।’
उनले सहमति गर्ने भए महाधिवेशनको औचित्य नै नभएको बताए । ‘निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो, कसको के हैसियत रहेछ निर्वाचनले देखाउने हो,’ उनले भने , ‘सहमति गर्ने भए यत्रो महाधिवेशन गर्नु नै पर्ने थिएन ।’
ओलीले बन्दसत्रको हलभित्र महाधिवेशन प्रतिनिधिहरूका अगाडि सुरूमा ३०० जनाको नाम पढेका थिए। तीमध्ये १०१ जना महिला थिए। सबै नाम पढेपछि ओलीले भने, ‘मेरो नाम मात्र पढ्न बाँकी छ। म के गरूँ?’ उनले यसो भनेपछि हलले जोडसँग ताली बजायो। त्यसपछि ओलीले आफ्नो नाम लिए।
उनले सबै नाम पूरा गरेपछि हलले ताली बजाएर स्वागत गरेको थियो। नाम नपर्ने केहीले भने हुटिङ पनि गरेका थिए। केही असन्तुष्टहरू हुटिङ गर्दै मञ्चमा उक्लिन खोजेका थिए। ओलीले तिनलाई ‘मञ्चमा नआउनुस्’ भन्दै हप्काए।
बन्दसत्रमा उपस्थित प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीले महिला, मधेसी, जनजाति, दलित सबै कलस्टर मिलाएर सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् । ‘अध्यक्ष ओलीले ३०१ जनाको नाम पढेर सुनाउनुभयो । कसैले विरोध गरेको छैन,’ एक प्रतिनिधिले भने ।
नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय समितिमा सर्वसम्मत गर्न नामावली छनोट गरेर प्रस्तुत गर्ने अधिकार दिएको थियो ।
यता केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका घोषणा गरिसकेको छ ।