
काठमाडौँ। फाइनलमा नेपालविरुद्ध ४-० को जित निकाल्दै बंगलादेश अपराजित रहँदै साफ यू-२० च्याम्पिनसिपको विजेता बनेको छ ।
सोमबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा सम्पन्न खेलमा घरेलु टिमको जितमा चारै गोल सागोरिकाले गरिन् । बंगलादेशकी सागोरिकाले आठौँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेकी थिइन् । यही गोलबाट पहिलो हाफसम्म बंगलादेशले १–० को अग्रता बनाएको थियो ।
५१औँ मिनेटमा सागोरिकाले नै घरेलु टिमको अग्रता दोब्बर बनाइन् । त्यसको सात मिनेटपछि सागोरिकाले ह्याट्रिक गर्दा बंगलादेशले अग्रतालाई ३-० मा पूर्याएको थियो ।
७७औँ मिनेटमा सागोरिकाले चौथो गोल गरेपछि बंगलादेशले सहज जित सुनिश्चित गरेको हो ।
योसँगै बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको छ । यसअघि प्रतियोगिताको पहिलो चरणमा बंगलादेशले नेपालविरुद्ध ३–२ को जित निकालेको थियो ।
डबल राउन्ड रोविन आधारमा सञ्चालित प्रतियोगितामा बंगलादेशले ६ खेल खेल्दा १८ अंक जोड्यो । समान खेलबाट १२ अंक जोडेको नेपाल उपविजेतामा सीमित बनेको हो । समान खेलबाट ६ अंक जोडेको भुटान तेस्रो र जितविहीन बनेको श्रीलंकाले पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरे ।
नेपाललाई प्रतियोगिताको च्याम्पियन बन्न आज जित्नैपर्ने समीकरण थियो ।