ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउने उद्देश्यले आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले अभियान सञ्चालनको प्रस्ताव गरेका हुन्। उनले नागरिकका समस्या सम्बोधन गर्दै पार्टीलाई जिम्मेवार र परिणाममुखी ढङ्गले अघि बढाउन अभियान आवश्यक रहेको बताए।
सभापति थापाले कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक समस्या समाधान गर्न सक्षम पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
‘महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएको छ। अब परिणाममुखी काममा केन्द्रित हुनुपर्छ’, उनले भने।
उनले महाधिवेशनबाट पारित नीतिगत तथा सङ्गठनात्मक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत पार्टीका तल्लो तहसम्म पुर्याइने जानकारी दिए।
त्यस्तै, महाधिवेशनबाट पारित प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन तथा थप विषय केन्द्रीय कार्यालयमा उपलब्ध गराउन सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।