काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेस र बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरूको अन्तिम मतपरिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सकिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना बिहीबार राति नै सम्पन्न भएको थियो।
त्यस्तै, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको उनले बताए। सबै मतपरिणाम रुजु गर्ने काम भइरहेकाले अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ।
असोज २३ गते मतदान सम्पन्न भएपछि सोही दिन रातिदेखि सभापति पदको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको नतिजा असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो।
कटुवालका अनुसार कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको हो।
मतगणना सुरु भएकै दिनदेखि दिनरात गरी करिब २५ समूह बनाएर गणना गरिएको उनले जानकारी दिए। मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उनको भनाइ छ।
यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटक दोब्बरभन्दा बढी छिटो मतगणना सम्पन्न भएको निर्वाचन समितिको दाबी छ।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी गरिएको छ। त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्। उक्त बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा रणनीतिबारे खाका तयार गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।