काठमाडौं । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइ मतले पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले आईपीयूमा पहिलोपटक आपत्कालीन प्रस्ताव प्रस्तुत गरेको नेपालले दुईतिहाइ समर्थन प्राप्त गर्नु संसदीय कूटनीतिका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
सभामुख डोलप्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गरेको ‘हिमालय क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जलवायुसम्बन्धी विपद्को सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्कालीन संसदीय पहल’ शीर्षकको प्रस्ताव महासभाको आपत्कालीन कार्यसूचीमा समावेश भएर छलफलसमेत भएको उनले जानकारी दिए । महासभामा नेपाल, बहराइन र इरानले आपत्कालीन प्रस्ताव प्रस्तुत गरेका थिए ।
महासभाको सामान्य बहसमा सभामुख अर्यालले सुशासन, समावेशी शासन प्रणाली, संस्थागत जवाफदेहिता, नागरिकको विश्वास अभिवृद्धि र सबै समुदायका लागि समान अवसर सिर्जना गर्न संसद्को भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए ।
महासचिव पाण्डेका अनुसार महासभाले समावेशी सामाजिक विकास, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरण र जलवायु विपद् व्यवस्थापन एवं उत्थानशीलता अभिवृद्धिसम्बन्धी प्रस्ताव पनि पारित गरेको थियो ।
महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले विभिन्न विषयगत बैठक तथा मञ्चमा नेपालको धारणा राखेका थिए । सांसद रविनकुमार महतोले युवा सांसदहरूको मञ्चमा युवा नेतृत्व, संसदीय सहभागिता, लोकतान्त्रिक अभ्यास र दिगो विकासबारे विचार राखेका थिए । सांसद झक्कुप्रसाद सुवेदीले एसिया–प्रशान्त भू–राजनीतिक समूहका बैठकमा सहभागिता जनाएका थिए भने राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले दिगो विकास लक्ष्यसम्बन्धी बैठकमा प्रतिवेदकको भूमिका निर्वाह गरेका थिए ।
महासभाका क्रममा नेपाली प्रतिनिधिमण्डलले अस्ट्रेलिया, बेलायत र चीनका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको पाण्डेले बताए । भुटान र संयुक्त अरब इमिरेट्सलगायतका मुलुकका प्रतिनिधिसँग पनि छलफल भएको थियो ।
आईपीयूको अध्यक्ष पदमा भएको निर्वाचनमा अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिक्स ५६ प्रतिशत मत प्राप्त गरी ३२औँ अध्यक्ष निर्वाचित भएको उनले जानकारी दिए । नेपालले डिक्सको उम्मेदवारीलाई समर्थन गरेको र यसबाट नेपाल–अस्ट्रेलिया संसदीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको उनले बताए ।
महासभासँगै आयोजित संसद्का महासचिवहरूको संघ (एएसजीपी) को बैठकमा पनि पाण्डेसहित नेपाली अधिकारीहरूले सहभागिता जनाएका थिए । बैठकमा संसदीय व्यवस्थापन, कार्यसम्पादन र विभिन्न देशका संसद्का प्रशासनिक अनुभव आदानप्रदान गरिएको थियो ।
सभामुख अर्यालको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलले केन्याको भ्रमणसमेत गरेको थियो । केन्याको राष्ट्रिय सभाका सभामुखको निमन्त्रणामा भएको भ्रमणका क्रममा टोलीले तल्लो सदनको अवलोकन गर्नुका साथै संसदीय कामकारबाही र बजेटसम्बन्धी अभ्यासबारे जानकारी लिएको थियो।
सभामुख अर्यालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा सांसद महतो, राष्ट्रिय सभा सदस्य सुवेदी र शाक्य, महासचिव पाण्डे, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयकी सहसचिव रेखा उपाध्याय खनाललगायत सहभागी थिए । टोली मंगलबार फ्लाई दुबईको एफजेड ५३९ उडानमार्फत स्वदेश फर्किएको हो ।