काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित १ हजार ८५ जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ । उनीहरूलाई अस्थायी आवासमा स्थानान्तरण गर्ने तयारी भइरहेको गृहसचिव केदारनाथ शर्माले बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा शर्माले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई आवास व्यवस्थापनमा पहिलो प्राथमिकता दिइने बताए । उनका अनुसार प्रभावितहरू भाडाका घरमा सर्न थालेपछि होल्डिङ सेन्टरको संख्या ३७ बाट घटाएर १७ मा झारिएको छ ।
भदौ १०, असोज ८ र ११ गतेका विपद्बाट प्रभावित विभिन्न स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए । असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित चार स्थानीय तहलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र प्रभावितलाई घरभाडा उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छलफल भइरहेको उनले बताए ।
बाढीमा मृत्यु भएकाका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको शर्माले जानकारी दिए । बेपत्ता व्यक्तिलाई मृतकका रूपमा प्रमाणित गरेपछि मात्रै राहत वितरण प्रक्रिया अघि बढ्ने उनले स्पष्ट पारे ।
प्रभावितको विवरण सम्बन्धित वडाबाट स्थानीय विपद् व्यवस्थापन समिति हुँदै जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमा पठाइनेछ । प्राधिकरणले नामावली सार्वजनिक गरेपछि सम्बन्धित स्थानीय तहमार्फत राहत वितरण गरिने शर्माले बताए ।