काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनका एजेन्डा अझै सान्दर्भिक रहेकाले नयाँ पुस्ताले यसको पुनर्गठन र पुनर्जागरण गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शर्माले जनयुद्धको नेतृत्व गरेको पुस्ताले अब आन्दोलनलाई अघि बढाउन नसक्ने भन्दै राजनीतिक सुझबुझ र नेतृत्व क्षमता भएको नयाँ पुस्ताले यसको नेतृत्व लिनुपर्ने बताए ।
माओवादी आन्दोलनले समयअनुसार विचार विकास गर्दै जनताका समस्या समाधान गर्ने दिशामा आफूलाई अघि बढाउन नसक्दा प्रतिक्रान्तिको अवस्था सिर्जना भएको उनको विश्लेषण थियो । बन्दुकको लडाइँ मात्र क्रान्ति नभएको उल्लेख गर्दै उनले संविधानसभा र शान्ति प्रक्रियामार्फत जनताका समस्या समाधान गर्ने संघर्ष पनि क्रान्तिकै निरन्तरता भएको बताए ।
संविधानमा समावेश गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको र समानुपातिक प्रतिनिधित्व तथा समानताको अधिकार कार्यान्वयनमा विकृति देखिएको उनको भनाइ थियो । पछिल्लो राजनीतिक परिस्थितिले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियतासमेत संकटमा पर्न सक्ने खतरा बढाएको उनले बताए ।
‘माओवादी आन्दोलनका एजेन्डा अहिले पनि बाँकी छन् । त्यो आवश्यकता अहिले पनि छ,’ शर्माले भने, ‘नयाँ पुस्ताले माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ । यसको पुनर्जागरण गर्नुपर्छ ।’
उनले नेतृत्व हस्तान्तरणलाई उमेरसँग मात्र जोड्न नहुने स्पष्ट पार्दै क्षमता र योग्यतालाई मुख्य आधार बनाउनुपर्ने बताए । नयाँ पुस्ताले आन्दोलनको नेतृत्व लिएर अघि बढे आफू सहयोग र योगदान गर्न तयार रहेको उनको भनाइ थियो ।