काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि सुरु भएको छ । महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको बैठकमा पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत सुधार तथा समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे छलफल सुरु भएको छ ।
बैठकमा नेतृत्व परिवर्तनको चर्चालाई एमालेले अफवाह भन्दै पार्टीको समग्र पुनर्गठन र सुदृढीकरणलाई मुख्य कार्यभारका रूपमा अघि सारेको छ। एमालेका सचेतक ऐनबहादुर महरका अनुसार सचिवालयले यसअघि नै निर्वाचन समीक्षा तथा पुनर्गठनका लागि सुझाव संकलन सुरु गरिसकेको छ।
तीन दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यले धारणा राख्ने र त्यसबाट पार्टीलाई थप एकताबद्ध बनाउने निष्कर्षमा पुग्ने महरले बताए ।
‘यो केवल नेतृत्व पुनर्गठनको विषय होइन । हामी पार्टीको नीति, व्यवहार र कार्यशैलीमा व्यापक सुधार गर्दै जनअपेक्षाअनुरूपको सुदृढ संगठन निर्माण गर्ने दिशामा छौँ,’ महरले भने ।
उनका अनुसार बैठकले एमालेलाई लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहका रूपमा थप सुदृढ गर्दै वर्तमान राष्ट्रिय कार्यभार पूरा गर्न सक्ने पार्टीका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
पार्टीमाथि भइरहेको राजनीतिक आक्रमणको सामना, राष्ट्रिय शक्तिको ध्रुवीकरण र लोकतन्त्रको रक्षाका लागि बैठक महत्त्वपूर्ण हुने महरको दाबी छ। अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनमा पनि कार्यदलको प्रतिवेदन र पार्टी रूपान्तरणलाई प्राथमिकता दिइएको उनले बताए।