गोरखा — तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान ११ महिनामा फलेको गहुँ भित्र्याउन व्यस्त छन्। अहिले यहाँका किसान गहुँ काट्ने, कुट्ने, केलाउने र सुरक्षित रूपमा थन्क्याउने काममा जुटेका छन्।
छेकम गाउँका किसान दोर्जे लामाका अनुसार गहुँ काट्ने र कुट्ने काम पुरुषले तथा केलाउने र थन्क्याउने काम महिलाले गर्ने परम्परा छ। गहुँ भित्र्याइसकेपछि केही दिनमै तोरी र फापर काट्ने, झाँट्ने तथा कुट्ने काम सुरु गरिन्छ।
गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्याउने समय भएको लामाले बताए। चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको हो। यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने धार्मिक तथा सांस्कृतिक परम्परा छ।
स्थानीय प्रमुख लामा पासाङ फुञ्जोका अनुसार साइत जुराएर बाली भित्र्याउँदा सहकाल रहने जनविश्वास छ। चुमभ्यालीका सबै गाउँमा एकैपटक बाली काट्ने चलन छैन। छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गर्दै बाली भित्र्याउने गरेका छन्।
भौगोलिक रूपमा गाउँहरू टाढाटाढा रहे पनि स्थानीयवासी एकअर्काको खेतबारीमा काम गर्न पुग्छन्। कतिपय गाउँमा पुग्न चार घण्टासम्म पैदल हिँड्नुपर्ने भए पनि सामूहिक रूपमा बाली भित्र्याउने परम्परा कायम छ। अबको एक महिनाभित्र चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्ने लक्ष्य छ।
चुमनुब्री–७ को छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा तीन हजार ३०० देखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित छ। यहाँ गहुँ पाक्न करिब ११ महिना लाग्छ।
“यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ,” प्रमुख लामा फुञ्जोले भने, “बारीमा गहुँ र फापर आलोपालो लगाएर बालीचक्र मिलाउने चलन छ।”
वर्षमा एकपटक मात्रै खेती हुने चुमभ्यालीमा ११ महिना लगाएर उत्पादन गरिएको गहुँले स्थानीयवासीको वर्षभरको आवश्यकता धान्ने गरेको छ। यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौं तथा विदेशमा बस्ने लामा गुरुहरूले समेत खरिद गर्ने गरेको फुञ्जोले बताए।
खेतीमा बढ्दै मेसिनको प्रयोग
हिमाली क्षेत्रमा परम्परागत रूपमा हुँदै आएको खेतीमा पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग पनि बढ्दै गएको छ। चुमभ्यालीका किसानले करिब एक दशकदेखि तिब्बती बजारबाट ल्याइएका मेसिन प्रयोग गरेर गहुँ काट्ने र कुट्ने गरेका छन्।
चुमनुब्री–७ का वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने तथा कुट्ने मेसिन छन्। यसले परम्परागत रूपमा धेरै समय र श्रम लाग्ने कामलाई सहज बनाएको छ।
चुमभ्यालीमा उत्पादन हुने गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग गरिन्छ। स्थानीयवासीले गहुँबाट रोटी र चम्पासमेत बनाउने गरेका छन्। यस्तै, याक र नाकका लागि दाना तथा घरेलु मदिरा उत्पादनमा पनि गहुँ प्रयोग हुने गरेको छ।