काठमाडौं। वैदिक सनातन हिन्दु धर्मावलम्बीको पर्व नागपञ्चमी आज देशभर नागको पूजा–अर्चना गरी मनाइँदैछ। साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीका अवसरमा घरको मूलढोकामाथि नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन छ।
नागपञ्चमीका अवसरमा बिहानैदेखि काठमाडौंको नक्सालस्थित नागपोखरीसहित देशभरका विभिन्न नागदह, पोखरी तथा नागमन्दिरमा भक्तजनको भीड लागेको छ। नागपोखरीमा पूजा तथा दर्शनका लागि उल्लेख्य संख्यामा श्रद्धालु पुगेका छन्।
धार्मिक मान्यताअनुसार नागलाई वर्षा र पानीका स्रोतका प्रतीकका रूपमा पूजा गरिन्छ। कृषिप्रधान मुलुकमा वर्षा र जलस्रोतसँग नागको सम्बन्ध जोडिएकाले नागपञ्चमीको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहँदै आएको छ।
नागपञ्चमीका दिन नागको पूजा गरे घरमा सर्प, बिच्छीजस्ता विषालु जीवको भय नहुने तथा चट्याङ र आगलागीजस्ता विपत्तिबाट जोगिने जनविश्वास छ।