काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अति आवश्यक उपभोक्ताका लागि ९ हजार ५६८ थान एलपी ग्यास सिलिन्डर बिक्री वितरण गरेको जनाएको छ ।
निगमले आइतबार उपत्यकाका विभिन्न ग्यास उद्योगका सिलिन्डर आफ्ना प्रतिनिधिमार्फत निगमले तोकेका सातवटा बिक्री केन्द्रबाट बिक्री वितरण गरेको हो ।
निगमका कर्मचारी, जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीको सहयोगमा ती ग्यास सिलिन्डर बिक्री वितरण गरिएको निगमले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ग्यास बिक्री वितरणमा सहयोग गर्ने सबैप्रति निगमले धन्यवाद व्यक्त गरेको छ । निगमका अनुसार भाेलि (सोमबार) देखि सम्बन्धित ग्यास उद्योगहरूले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार एलपी ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।
ग्यास सिलिन्डर आवश्यक भएका उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ ।