काठमाडौं। चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि साउन २३ गतेसम्म देशभर ४ हजार ४०८ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २०५ जनाको मृत्यु, पाँच जना बेपत्ता र १ हजार ३२४ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको छ। सर्पदंशका ८०१ घटनामा ५९ जनाको मृत्यु र ७४९ जना घाइते भएका छन्। चट्याङका २३५ घटनामा २५ जना र लेक लाग्ने ५७ घटनामा २३ जनाको मृत्यु भएको छ।
त्यस्तै, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाको मृत्यु भएको प्राधिकरणको बुलेटिनमा उल्लेख छ।
विपद्का घटनाबाट ५ हजार ४५७ परिवार प्रभावित भएका छन्। हावाहुरीका ४८० घटनाबाट १ हजार ३५८ परिवार तथा आगलागीबाट १ हजार १७० परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।