काठमाडौं। समाज कल्याण परिषद्ले नेपालमा दर्ता भएका अधिकांश गैरसरकारी संस्था (एनजीओ) निष्क्रिय रहेको जनाएको छ। परिषद्का अनुसार हालसम्म आबद्ध करिब ६० हजार एनजीओमध्ये करिब १० हजार मात्रै सक्रिय छन्। त्यसैगरी, नेपालमा काम गरेका करिब २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) मध्ये हाल १३६ वटा मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा परिषद्का सदस्यसचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिएका हुन्।
उनले भने, “समाज कल्याण परिषद्मा करिब ६० हजार एनजीओ आबद्ध छन्, जसमध्ये करिब १० हजार सक्रिय छन्। नेपालमा हालसम्म करिब २५० आइएनजीओले काम गरेका छन् भने १३६ संस्था मात्र सक्रिय छन्।”
समितिमा बुढाले इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आईसीजे), एम्नेस्टी इन्टरनेशनल नेपाल र ह्युमन राइट्स वाचको नेपालस्थित गतिविधिबारे पनि जानकारी दिएका थिए। उनका अनुसार आईसीजे सन् २००९ देखि परिषद्सँग आबद्ध रही मानव अधिकार, संक्रमणकालीन न्याय र कानुनी सुधारका क्षेत्रमा काम गर्दै आएको छ भने नयाँ परियोजनाको प्रस्ताव मन्त्रालयमा विचाराधीन छ।
एम्नेस्टी इन्टरनेशनल नेपाल २०६२ सालदेखि परिषद्मा आबद्ध रहेको र सन् २०२६ का लागि मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न करिब ५ करोड १५ लाख रुपैयाँको परियोजना स्वीकृत भएको उनले जानकारी दिए। ह्युमन राइट्स वाच भने २०६४ सालमा परिषद्मा आबद्ध भए पनि हालसम्म कुनै परियोजनाको स्वीकृति वा नवीकरणका लागि नआएको उनले बताए।
बुढाले समाज कल्याण ऐन र नियमावलीअनुसार गैरसरकारी संस्थाको नियमन भइरहेको उल्लेख गर्दै कानुन वा सम्झौताका सर्त उल्लंघन गरे स्पष्टीकरण सोध्ने, परियोजना रद्द गर्ने वा संस्था निलम्बन गर्नेसम्मको व्यवस्था रहेको बताए।