काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेसमा आन्दोलन वा साम्प्रदायिक तनावका बेला सधैं गोली चलाइने गरेको भन्दै राज्यलाई प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले मधेस आन्दोलन, थारुहट आन्दोलनदेखि साम्प्रदायिक तनावका घटनासम्म सिधै गोली चलाउने प्रवृत्ति रहेको उल्लेख गर्दै प्रहरीका लागि लाठीचार्ज र अश्रुग्यासको प्रयोगलाई प्राथमिकता दिन सरकारसँग माग गरे।
‘मधेसमा आन्दोलन हुँदा गोली मात्रै किन चल्छ ? त्यहाँ लाठी र अश्रुग्यास किन चल्दैन ?’ उनले भने।
सिंहले आन्दोलन तथा दंगा नियन्त्रणका लागि सुरक्षाकर्मीलाई उपयुक्त तालिम र आवश्यक साधनस्रोत उपलब्ध गराउन सरकारसँग आग्रह गरे। सिधै गोली चलाउने प्रवृत्तिको सट्टा भीड नियन्त्रणका वैकल्पिक उपाय अपनाउनुपर्ने उनको भनाइ थियो।
उनले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गर्दै अहिले समुदाय–समुदायबीच होइन, गरिबी, पछौटोपन र असमानताविरुद्ध लड्नुपर्ने आवश्यकता औंल्याए। धार्मिक तथा साम्प्रदायिक तनाव हुन नदिन राज्य थप सचेत हुनुपर्नेमा पनि उनले जोड दिए।