काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजारमा देखिएको एलपी ग्यासको समस्या अभावका कारण नभई वितरण प्रणालीमा आएको चापका कारण भएको बताएका छन्।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले आधा सिलिन्डर वितरण भइरहेका बेला धेरै उपभोक्ताले ग्यास रिफिल नगर्दा अहिले पूर्ण १४ केजी ग्यास वितरण सुरु भएपछि ती सिलिन्डर एकैपटक बजारमा फर्किएर माग अस्वाभाविक रूपमा बढेको बताए।
‘ग्यासको परिमाणभन्दा बजारभित्रको सर्कुलेसन व्यवस्थापन अहिलेको मुख्य चुनौती हो,’ उनले भने।
दुवाडीका अनुसार पछिल्ला तीन महिनामा कम्तीमा ७० लाख सिलिन्डर रिफिल हुनुपर्नेमा ५४ लाख मात्रै रिफिल भएका छन्। करिब २३ लाख सिलिन्डर रिफिल नभएकै कारण अहिले वितरण प्रणालीमा चाप परेको उनको भनाइ छ।
उनले यसअघि मासिक ४६–४७ हजार मेट्रिक टन रहेको ग्यासको माग पूर्ण सिलिन्डर वितरण सुरु भएपछि करिब ६० हजार मेट्रिक टन पुगेको बताए। माग व्यवस्थापनका लागि इन्डियन आयल कर्पोरेसनसँग एकदेखि डेढ महिनाका लागि थप ग्यास आपूर्ति उपलब्ध गराउन आग्रह गरिएको र हाल करिब ५० हजार मेट्रिक टन आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिए।
साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको उल्लेख गर्दै उनले केही समय आपूर्तिमा चाप रहने बताए। उनका अनुसार ४१ जिल्लामा ग्यासको अवस्था सामान्य रहे पनि २८ जिल्लामा केही समस्या छ भने करिब आठ जिल्लामा विशेष व्यवस्थापन र निगरानी आवश्यक छ।