जनकपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले रास्वपाका सदस्य हिन्दुवादी अभियन्ता हुन सक्ने बताएका छन्। हिन्दु सम्राट सेनाका तर्फबाट सरकारसँग भएको वार्तामा सहभागी एक प्रतिनिधि रास्वपाको सदस्य रहेको विषयलाई लिएर भएको आलोचनाप्रति उनले व्यक्तिगत स्वतन्त्रताको विषय भन्दै प्रतिवाद गरे।
आइतबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीको सदस्य हुनु र धार्मिक आस्थाका आधारमा कुनै अभियानमा सहभागी हुनु फरक विषय भएको बताए। “हिन्दुवादी अभियन्ता हाम्रो पार्टीको सदस्य पनि हुन पाउँनुहुन्छ,” उनले भने।
झाका अनुसार हिन्दु सम्राट सेनासँग भएको वार्तामा रास्वपाका सदस्यकै पहलले आन्दोलनलाई हिंसात्मक बाटोमा जान नदिई संवादमार्फत समाधान खोज्ने वातावरण बनेको हो। वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु उचित नहुने उनको भनाइ थियो।
उनले सरकार र आन्दोलनकारीबीच करिब साढे नौ घण्टा वार्ता भएको जानकारी दिए। पहिलो चरणमा छुटेका केही पक्षको आग्रहपछि थप दुई घण्टा छलफल भएको र त्यसक्रममा आन्दोलनकारीले थप ६ वटा माग तथा केही पुराना माग संशोधनको प्रस्ताव गरेका थिए।
वार्तामा गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको उनले बताए। आन्दोलनकारीका सम्भावित र कार्यान्वयनयोग्य मागमाथि थप छलफल गरेर अघि बढ्ने सहमति भएको उनको भनाइ छ।
झाले केही राजनीतिक दलले वार्ता बिथोल्ने प्रयास गरेको आरोप पनि लगाए। यद्यपि त्यस्तो प्रयास सफल नभएको दाबी गर्दै उनले हिंसा र अस्थिरता फैलाउने गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरे।