काठमाडौँ । जिल्ला दोलखाको गौरीशंकर गाउँपालिका–स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर)को ड्याम नजिकै अविरल वर्षापछि गएको पहिरोले एक गोठ बगाउँदा एक वृद्ध सम्पर्कविहीन भएका छन् ।
बुधबार बिहान करिब १ बजे गएको पहिरोले ड्यामका कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षति पुगेको छ । असुरक्षित स्थानमा रहेका ड्यामका चार जना कर्मचारीलाई बिहान ७:१५ बजे सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै, ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका-९ टासिनामका करिब ७३ वर्षीय चस्मान तामाङ (तसमान) को गोठ पहिरोसँगै बगेको छ । गोठमा रहेका ७ वटा बाख्रा, ९ वटा गाई र ३ वटा गोरु समेत बगेका छन् ।
चस्मान तामाङ हालसम्म सम्पर्कविहीन रहेकोले नेपाल प्रहरी खोजी तथा उद्धारका लागि घटनास्थलमा सक्रिय रूपमा खटिरहेका छन् भने स्थानीयवासी तथा अन्य सुरक्षा निकायको समेत सहयोगमा खोजी कार्य भइरहेको छ ।