काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा पनि नेपालले मिचेको अभिव्यक्ति संसदमा दिएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि मुख खोलेका छन् ।
साम्पाङ आज संसद वैठकमा अनुपस्थित थिए । लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर आफूहरुको प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका उनी आजै अनुपस्थित हुन पुगेका हुन् । आज प्रधानमन्त्री आउने भन्ने पूर्वजानकारी पनि थिएन ।
सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, ‘आज तालिकामा नभएको सदनको वैठक किन बोलाइयो भनेको त प्रमलाई सुटुक्कै बोलाउन थिएछ । १९ गते म आउँछु है ।’
आज संसदमा साम्पाङको अभाव त्यतिबेला खट्कियो, जब प्रधानमन्त्रीले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिए । प्रधानमन्त्रीले संसद रोष्ट्रममै उभिएर नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भनेर बोलेका छन् । केही सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए पनि कडा विरोध भने भएन । सायद साम्पाङ उपस्थित रहेको भए हंगामा मच्चाउँथे ।
सामाजिक सञ्जालबाट साम्पाङले छोटो टिप्पणी गर्दै प्रधानमन्त्रीलाई ‘हुतिहारा’ संज्ञा दिएका छन् ।
उनले लेखेका छन्, ‘प्रमले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको । हुतिहारा।।’
सम्भवतः साम्पाङको यो सुरुवात मात्रै हो । उनको शैलीअनुसार यस विषयमा अब उनका धारावाहिक स्टाटसहरु आउन सक्छन् ।