काठमाडौँ । नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्न दुई युवक बेपत्ता भएका थिए ।
खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका-६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका क्रममा आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेला परेको प्रहरीले जनाएको हो ।
शनिबार खोला तर्ने क्रममा झप्सी झुलुंगे पुलमुनिबाट उनीहरू दुई जनासहित बरहथवा नगरपालिका–५ का अन्दाजी २८ वर्षका सहमद मोमिन, २४ वर्षका मोहम्द अखतर र ब्रहमपुरी गाउँपालिका–३ का अन्दाजी २० वर्षका श्याम भण्डारीलाई समेत खेलाले बगाएको थियो । बगेका तीन जना भने त्यसको केही मिटरको दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
उनीहरू शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ । बेपत्ता रोहित र गणेशको भने खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव घटनास्थलको मुचुल्कापछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । घटनापछि मृतक युवकहरूको गाउँ शोकमा डुबेको छ ।