काठमाडौं-नेपाल सरकारले चीनको शान्सी प्रान्तमा भएको विनाशकारी खानी विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सन्देश जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको हो।
एक्समार्फत जारी सन्देशमा भनिएको छ, ‘चीनको शान्सीमा भएको दुःखद खानी दुर्घटनाबाट गहिरो दुःख लाग्यो, जसले गर्दा धेरैको ज्यान गयो। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै बेपत्ताको सकुशल उद्धारका लागि प्रार्थना गर्दछु। यो अप्ठ्यारो घडीमा नेपाल चीनसँग ऐक्यबद्ध छ।’
उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा शुक्रबार भएको ग्यास विस्फोटमा परी २४७ कामदार फसेका थिए। शनिबार रातिसम्म ८२ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता र १२८ जना घाइते भएका छन्। बेपत्ताको खोजीका लागि ३३५ पेशेवर उद्धारकर्ता, ४२० स्वास्थ्यकर्मी र भूमिगत माइन निरीक्षण रोबोटहरू खटाइएको छ। ग्यास सेन्सर र क्यामेरा जडित रोबोटहरूले उद्धारकर्मी पुग्न नसक्ने क्षेत्रको डाटा सङ्कलन गरिरहेका छन्।
अनुसन्धानका क्रममा खानीमा प्रवेश गर्दा सार्वजनिक बोर्डमा १२४ जनाको मात्रै रेकर्ड देखिए पनि वास्तविक रूपमा २४७ जना भूमिगत रहेको फेला परेको छ। बाँकी १२३ जनाको प्रणालीमा वैध जानकारी नभएको पाइएको छ। अधिकारीहरूका अनुसार घाइतेमध्ये १२४ जना सामान्य र ४ जना गम्भीर छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।