काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र प्राप्त सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताएकी छन् ।
फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि उनले उक्त भ्रमण र उपलब्धिका बारेमा शनिवार विमानस्थलमा यसबारे जानकारी गराएकी हुन्। कार्यवाहक प्रमुख डंगोलले सिर्जनशील क्षेत्रलाई व्यवस्थित र निरन्तरता दिन काठमाडौं महानगरपालिकाले आवश्यक नीति र कार्यविधि निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिइन्। कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत कार्यक्रम र डिनरमा सहभागी हुने क्रममा काठमाडौं फिल्म फेस्टिभलका लागि आवश्यक प्राविधिक सहयोग र सहकार्यका विषयमा समेत छलफल भएको उनले बताइन्। यस पटकको कान्स फिल्म फेस्टिभल नेपाली सिने जगतका लागि विशेष रहेको उल्लेख गर्दै डंगोलले इतिहासमै पहिलो पटक नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु गौरवको विषय भएको बताइन् । उक्त विधामा निर्देशक अविनाशविक्रम शाहको टिमले निर्माण गरेको चलचित्रले जुरी प्राइज जित्न सफल भएकोमा उनले बधाई ज्ञापन गरिन् ।
उनले भनिन्, ‘सिर्जनशील क्षेत्रलाई ‘वान टाइम प्रोग्राम’ मात्र नभई संस्थागत स्वरूप दिन हामीले नीतिगत छलफल अगाडि बढाएका छौँ । भ्रमणका क्रममा विभिन्न शहरका प्रतिनिधिहरूसँगको भेटमा काठमाडौं महानगरपालिकाले पहिलो पटक ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्न लागेको जानकारी गराउँदा उहाँहरू उत्साहित हुनुभएको छ । फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकहरूले करिव ७–८ मिनेटसम्म उभिएर सम्मान दिएका थिए । यो क्षण सम्पूर्ण नेपालीका लागि भावुक र गर्विलो थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालीले मन मात्र नभई उपाधि पनि जित्नु ठूलो उपलब्धि हो ।’
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डंगोलले नेपालको मौलिक पहिचान झल्कने ‘हाकु पटासी’ र परम्परागत गरगहना प्रयोग गरेकी थिइन्। काठमाडौं महानगरपालिकाले आगामी फिल्म महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न छुट्टै टोली परिचालन गरेको छ ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा महोत्सवको तयारी भइरहेको छ । महोत्सवलाई काठमाडौंको इकोसिस्टम र संस्कृतिसँग जोडेर प्रवद्र्धन गरिने महानगरले जनाएको छ । कार्यवाहक प्रमुख डंगोलले यो भ्रमणबाट काठमाडौंलाई ‘क्रिएटिभ सिटी’ का रूपमा विश्वसामु चिनाउन र अन्तर्राष्ट्रिय शहरहरूसँग सहकार्यको ढोका खोल्न मद्दत पुगेको विश्वास व्यक्त गरेकी छन् ।