काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जारी अनुसन्धान निर्धारित म्यादभित्रै सम्पन्न गर्न आदेश दिएको छ ।
प्रसाईँको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।
अदालतले दोस्रो पटक थप गरिएको हिरासत अवधिभित्र अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दा दायर गर्ने वा नगर्ने सम्बन्धमा कानुनी निर्णय लिन निर्देशन दिएको छ । यदि उक्त अवधिमा मुद्दा नचल्ने अवस्था भएमा प्रसाईंलाई थुनामुक्त गर्नसमेत आदेशमा उल्लेख गरिएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्सा ले बिहीबार प्रसाईँविरुद्ध थप चार दिन हिरासतमा राख्न म्याद थप गरेको थियो । प्रसाईंलाई प्रहरीले पर्सा जिल्लाबाट पक्राउ गरेको थियो ।