काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
‘हामीले भदौ २३ र २४ गते अस्पतालमा भर्ना भएको आधारमा जेन-जी घाइतेको वर्गीकरण गरेका छौँ,’ उनले भने, ‘सोही अनुसार गृहमन्त्रालयले घाइतेको उपचार खर्चका लागि मासिक आर्थिक सहयोग प्रदान गरेको छ ।’
उनका अनुसार सरकारले जेन-जी प्रदर्शनका क्रममा अति गम्भीर घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ हजार-नौ हजार, गम्भीर घाइतेलाई मासिक रु नौ हजार र मध्य घाइतेलाई मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाइतेलाई भने कुनै रकम उपलब्ध नगराउने उल्लेख छ ।
यसैगरी, जेन-जीका सबै घाइतेलाई भने एकमुष्ट ३५ हजार प्रदान गरिएको उनले बताए।
पाँच सय ३९ घाइतेको वर्गीकरण
यसैगरी, जेन-जी आन्दोलनमा भएका घाइतेलाई विभिन्न चार वर्गमा विभाजन गरिएको छ । गृहमन्त्रालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा ती घाइतेको वर्गीकरण गरिएको हो ।
घाइते भएकामध्ये ५३९ जनालाई विभिन्न चार वर्गमा विभाजन गरिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले पाँच पटक गरी ती सबै घाइतेको वर्गीकरणको काम सकिएको बताए। उनका अनुसार अति गम्भीर घाइते २९, गम्भीर घाइते १३०, मध्यम घाइते ८५ र सामान्य घाइते २९५ जना रहेका छन् ।